Ad Code

Responsive Advertisement

हुक्के हुक्का थारुहरुले आज हर्सोल्लासका साथ मनाउदै

 अन्धन लक्ष्‍मी घर ढुक

दलिदर भूत बहार हो
अर्थात धनकी देवी लक्ष्‍मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

हिन्दु नेपालीहरुले तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले घर-घरमा हुक्के-हुक्का खेलेर र सुप्पा (नाङ्लो) ठटाएर भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्‍मी भित्र्याउने गर्छन् ।परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन पूर्वका थारु समुदायले हातमा सन्ठी (जुट निकालिसकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्‍के-हुक्‍का खेलेर भित्र्याउँछन् । त्यस्तै पश्चिम नेपालका थारु समुदायले मादल ठोके जस्तै सुप्पा (नाङ्लो) ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलिच्छिन टाढा जा लक्ष्मी घरमा आऊ) नारा लगाउँदै लक्ष्मी भित्र्याउँछन् ।

पूर्वका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र दलिदर (राक्षस) बाहिर जाओस् र धनकी देवी लक्ष्मी भित्र पसुन् भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्‍के हुक्‍का खेल्ने गरेको थारु संस्कृतिविद् भुलाई चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘हुक्‍के हुक्का थारु समुदायको एउटा मौलिक पर्व हो। वर्षभरिमा घरमा लुकेर बसेको भूत, पिचास र दलिदर (राक्षस)लाई सन्ठीमा आगो लगाएर घरबाट धपाउने गरिन्छ । त्यसपछि लक्ष्मीलाई भित्र्याउने गरिन्छ । हाम्रो समाजमा यो चलन प्राचीन हो ।’

लक्ष्मीपूजाको साँझ प्राय थारु समुदायले आ-आफ्‍नो घरमा/टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्‍के हुक्‍का तयार गर्छन् । उनीहरुले आजको दिन आफ्‍नो घरमा सनपाट/जुटबाट (नभए अरुकोबाट मागेर भए पनि ल्‍याएर) हुक्‍के-हुक्‍का बनाएर खेल्‍ने गर्छन्।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्‍दै आएको संस्कृतिविद् चौधरी बताउँछन्। उनी भन्छन्,‘हुक्‍के-हुक्‍का तराईमा बस्‍ने आदिवासीले त्‍यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्‍ने गरेको छ ।’

यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित शिवशंकर चौधरी बताउँछन् । उनी भन्छन्, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ । पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन् । युवाहरु कृत्रिमतातर्फ आकर्षिक हुँदै गएका छन् ।’

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका-३, मोतीगडाका किसान नन्दबत्ती चौधरीले बताइन् । उनले भनिन्, ‘ताल तलैया, पोखरीहरु पुरिए । अर्कोतिर सनपाट पनि खासै पाइदैन । अब कसरी खेल्‍ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नुपर्ने देखिन्छ ।’

परम्परा अनुसार घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्काइएको हुक्के हुक्कालाई तीन पटकसम्म देउता घरको चारैतिर घुमी दोबाटो वा खाली चौरमा लगी खेल्ने चलन छ । खेल्दा उनीहरुले यस्तो भन्‍ने गरेका छन् ।

हुक्‍के- हुक्‍का बेहानके नोन बगिया
हुक्‍के-हुक्‍के बेहानके तेल बगिया

पुर्वमा थारु समुदायले हुक्के-हुक्का खेलेर लक्ष्मी भित्र्याउने गरिन्छ।

किंवदन्ती अनुसार हुक्‍के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्‍ने गरिन्छ । यसले उब्जनी राम्रो हुने मान्यता रहेको छ । अन्नबाली राम्ररी सप्रियोस् भनी हुक्के हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आ–आफ्नो घर जाने चलन छ ।तर आजभोलि खुल्ला मैदानको अभाव, सनपाटको खेतीमा कमी र युवाहरुमा मौलिक संस्कृतिप्रतिको उदासिनताको कारण यो हुक्के हुक्का ओझेलमा पर्दै गएको देखिन्छ । हुक्के हुक्का खेलेर बाँकी रहेको सन्टीका केही टुक्रा प्रत्येकले आआफ्नो घरमा फिर्ता ल्याइन्छ ।यस्तै एउटा एउटा जलेको हुक्के हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ ।हुक्के हुक्का खेल्ने बालकहरु रमाउदै यसो भन्छन ः

हुक्‍के- हुक्‍का 

बेहानके तिमन चुरा

घरघरमा काँचै माटोको दियो

थारु समुदायमा दीपावली लक्ष्मीपूजाको दिनलाई मानिन्छ । लक्ष्मीपूजाको विहानैदेखि माटोको दियो बनाउने काम हुन्छ । दिनभरि लगाएर बनाएको माटाको दियो साँझ भएपछि बालिन्छ । चर्न गएका गाईगोरु घर फर्किसकेपछि घर आँगन सफा सुग्घर बनाएर दियो बाल्ने काम हुन्छ ।

तिहार (सुकराइत) आउनुभन्दा अगाडि नै आ-आफ्ना घरहरु कमेरो माटोले लिपपोत गरी चिटिक्क पारिएको हुन्छ । घर वातावरण जत्ति सफा सुग्घर गर्न सक्यो त्यति लक्ष्मीको बास हुन्छ भन्ने विश्वास थारु समुदाय रहेको पाइन्छ ।

घरको चारैतिर माटाको दियोमा खाने तेल हालेर कपासको बत्ती राखेर जलाइन्छ । कसैकसैले घरको गेटअगाडि केराको थाममा बाँसको कप्टेरो हालेर पनि माटाको दियो राख्‍ने गर्छन् ।

आफ्नो घरको चारैतिर उज्यालो पारिन्छ । यसरी चारैतिर उज्यालो पार्नाले लक्ष्मी खुशी हुन्छिन् भन्ने विश्वास गरिन्छ । दियो बाल्दा सबभन्दा पहिला देवता बस्ने कोठा (गहबर/शीर) बाट दियो बाल्ने काम सुरु गरिन्छ ।

पश्‍चिमका थारुले सुप्पा ठटाएर लक्ष्मी भित्र्याउँछन् ।

पश्‍चिम नेपालका थारु समुदायले लक्ष्मी पूजाका दिन नाङ्लो ठट्टाएर लक्ष्मी भित्र्याउने गरेको थारु अगुवा लक्की चौधरी बताउँछन् ।

उनी भन्छन्,’ घरमूलीले दियो बाल्छन् र अर्को एक जनाले सुप्पो ठटाउने गर्छन् । मादल ठोकेजस्तै गरेर सुप्पोलाई ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलच्छिन टाढा जा लक्ष्मी घरमा आउनु) नारा भट्याइन्छ । सुप्पो ठटाउने मान्छेले सुप्पो ठटाउँदै त्यही नारा घरीघरी दोहोर्‍याइ तेहेर्‍याइ उच्चारण गर्छ।’

उनका अनुसार जबसम्म बत्ती घरको चारैतिर बालेर सकिदैन तaसम्म सुप्पो ठटाउने काम रोकिदैन । सबै कोठाका ढोका, झ्याल र भित्र दियो बालिन्छ र घरको कुना कुनामा सुप्पो ठटाउने र अलच्छिनलाई भगाउने काम गरिन्छ । यसरी सुप्पो ठटाउँदा दुःख विमार, बैरी, दुश्मन, प्रेतात्मा घरबाहिर भाग्छन् भन्ने विश्वास गरिन्छ ।

घरको भित्र सबै ठाउँमा बत्ती बालिसकेपछि घर बाहिर चारैतिर बाल्ने काम हुन्छ । थारु समुदायको घरको पूर्वपट्टिको द्वार अगाडि मरुवा बनाइएको हुन्छ । जसमा घर संरक्षक देवता बस्छन् । मरुवाको चारैतिर दियो बालिन्छ । गाइगोठ, धारा पँधेरा, आँगन, कौसी सबैतिर दियो बालेर उज्यालो पारिन्छ ।

सुप्पो ठटाउने मान्छे नुहाएर सफा हुनुपर्छ । त्यसैगरी बत्ती बाल्ने घरमुली पनि नुहाएर सफा हुनुपर्छ । सुप्पो ठटाएर अलच्छिनलाई बाहिर निकाल्यो भने एक वर्षसम्म घरमा दुःख विमार र चिन्ता रहँदैन भन्ने विश्वास गरिन्छ। थारुहरुको पनि ठाउँ र स्थानअनुसार दीपावली मनाउने फरक फरक परम्परा छ ।


Post a Comment

0 Comments

Close Menu